तीनकुने प्रदर्शनको असर : मिश्र, राणासहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा सहित ११ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न लागिएको छ ।

काठमाडौं जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहराका अनुसार सरकारी वकिल कार्यालयले मिश्र, राणा लगायत ११ जनालाई राज्यविरुद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंमा १० दिनको म्याद माग गरेको छ । सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले सेतोपाटीलाई जानकारी दिए । यस अतिरिक्त, बाँकी ३० जनामाथि छुट्टै मुद्दा दर्ता गरी अनुसन्धान गरिने तयारी भइरहेको छ ।

चैत १५ गते तीनकुनेमा आयोजित प्रदर्शनमा तोडफोड, आगजनी, र लुटपाट भएका थिए । राजसंस्थाको पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको नेतृत्वमा आयोजना गरिएको सो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ को समर्थन रहेको थियो । राप्रपा र राप्रपा नेपालले समेत समर्थन जनाएका थिए ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव थिए भने महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए। दुर्गा प्रसाईंलाई ‘जनकमान्डर’ को भूमिकामा तोकिएको थियो । मिश्र र राणाले प्रदर्शनमा संलग्न भई प्रदर्शनकारीलाई उत्तेजित बनाएको आरोप लागेको छ ।

मिश्र र राणालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ भने हिंसात्मक प्रदर्शनपछि दुर्गा प्रसाईं फरार छन् । उनले आइतबार फेसबुकमा भिडिओमार्फत आफू काठमाडौंकै कुनै मन्दिरमा लुकेको दाबी गरेका थिए ।

प्रहरीले कूल ४१ जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाएको छ । संगठित अपराधको मुद्दा दर्ता भएसँगै उनीहरूलाई ६० दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न सकिनेछ ।

चैत १५ गते तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो । प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिकाका संरचनाहरू तोडफोड गरिएको भन्दै महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

महानगरले निर्मल निवासमा जरिवानाको पत्र पठाए पनि उक्त पत्र बुझ्न अस्वीकार गरिएको थियो । पछि हुलाकमार्फत पत्र पठाइएको जानकारी महानगरले दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री