काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै रहरले राजतन्त्र पुनःस्थापित नहुने स्पष्ट पारेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थायी भइसकेको बताए ।
उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले संघर्ष गरेर गणतन्त्र स्थापना गरेको स्मरण गराउँदै यो व्यवस्था कुनै हालतमा हट्न नसक्ने बताए । संविधानसभामार्फत नेपाली जनताले आफ्नै इच्छाअनुसार गणतन्त्र रोजिसकेको भन्दै उनले अब राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको धारणा राखे ।
सभापति देउवाले भने, ‘नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना कुनै संयोगले भएको होइन, यसका लागि असंख्य नेपालीले संघर्ष गरेका छन् । अब कसैले रहर गरेर राजतन्त्र फर्काउने कल्पना गर्नु व्यर्थ छ। प्रजातन्त्र, लोकतन्त्र, र गणतन्त्रलाई थप संस्थागत गर्दै स्थायित्व दिनु आवश्यक छ ।’
उनले नेपालको संविधान सबै नेपालीको प्रतिनिधित्व गर्ने दस्तावेज भएको उल्लेख गर्दै सबै नागरिकलाई संविधान प्रदत्त अधिकारको पूर्ण उपभोगको अवसर सुनिश्चित गरिएको बताए ।



