नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड बढी

काठमाडौं । नेपालले पछिल्ला आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। नेपालले विदेशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमै प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर बिक्री गर्दा खानेतेल निर्यात उल्लेखनीय रूपमा बढेको हो।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कअनुसार निर्यात ५७.२० प्रतिशतले वृद्धि भएको छ भने आयात ११.२० प्रतिशतले बढेको छ। पछिल्लो आठ महिनामा नेपालको कुल निर्यात रकम १ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ, जसमा ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास तेल प्रमुख निर्यात सामग्री रहेको छ। साथै, ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको अलैंची, ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ बराबरको कार्पेट समेत निर्यात भएको छ।

चालु आवको दोस्रो चौमासिक अवधिसम्म नेपालले कुल १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। तर, व्यापार घाटा भने अझै उच्च रहँदै आएको छ। पछिल्लो आठ महिनामा मात्र नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको घाटा बेहोरेको छ। नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँमा सीमित रहेको छ।

नेपालले छिमेकी मुलुक भारतसँग मात्र ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने १ खर्ब २५ अर्ब रुपैयाँ बराबर मात्र भएको छ। चीनसँगको व्यापारमा पनि नेपाल घाटामै रहेको छ। चीनबाट २ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने केवल २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ, जसले गर्दा नेपालले २१ अर्ब ७० करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ।

नेपालले अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरूसँग उच्च व्यापार घाटा बेहोरेको छ। तर, अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्स जस्ता ३४ वटा मुलुकसँग भने नेपालले व्यापार नाफा कमाउन सफल भएको छ।

पछिल्ला आठ महिनामा नेपालले पेट्रोलियम पदार्थको आयात उच्च मात्रामा गरेको छ। नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ बराबरको डिजेल, ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोल, र ४१ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेको छ। त्यस्तै, ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र २ अर्ब ११ करोड रुपैयाँ बराबरको अन्य सवारीसाधन आयात भएको छ।

नेपालमा स्मार्टफोनको माग पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ। पछिल्लो आठ महिनामा मात्रै १४ लाख ७ हजार ७८ वटा स्मार्टफोन आयात गरिएको छ, जसको कुल मूल्य २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप