सिटिजन्स बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा, सेवासँगै विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखासहित बैंकका देशभर २०० वटा शाखा सञ्चालनमा आएका छन् भने कोशी प्रदेशभित्र मात्रै २८ वटा शाखा पुगिसकेका छन्।

शाखा परिसरमै पूजापाठ गरी बैंकिङ कारोबारको विधिवत् सुरुवात गरिएको हो। उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सम्बोधन गर्दै खोटाङमा शाखा विस्तार गर्नुको उद्देश्य स्थानीय ग्राहकलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्नु रहेको स्पष्ट पारे। उनका अनुसार, शाखा विस्तारमार्फत ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बैंकको पहुँच विस्तार गर्दै उच्चस्तरीय रिटेल सेवा तथा साना तथा मझौला व्यवसायीहरूलाई लक्षित सेवा प्रदान गरिनेछ।

नयाँ शाखाको अवसरमा खाता खोल्ने ग्राहकलाई पहिलो वर्ष निःशुल्क कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराइनेछ। त्यस्तै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा समेत पहिलो वर्ष छुटको व्यवस्था गरिएको छ।

बैंकले शाखा उद्घाटनको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ मा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गर्दै बैंकको सानो योगदानले विद्यार्थीको डिजिटल पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री