काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सरकार फास्ट ट्रयाक प्रक्रियाबाट अघि बढाउने तयारीमा छ । यस क्रममा संसदीय विषयगत समितिमा दफावार छलफल नगराइ प्रतिनिधिसभाबाटै पारित गराउने योजना बनाइएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले नागरिकता संशोधन विधेयकमाथि सदनमै दफावार छलफल गर्न प्रस्ताव पेश गर्नेछन् । विधेयकमाथि प्राप्त संशोधनहरूलाई समेत निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि गृहमन्त्री लेखकले विधेयक पारित गर्ने प्रस्ताव अघि बढाउने कार्यसूची छ ।
संसदमा विधेयक पारित गर्ने दुई विधि रहेका छन् । पहिलो, सभामै छलफल गरेर पारित गर्ने, जुन फास्ट ट्रयाक विधि मानिन्छ । दोस्रो, विधेयकलाई संसदीय समितिमा पठाएर सरोकारवालासँग छलफल गरी अन्तिम प्रतिवेदनको आधारमा पारित गर्ने प्रक्रिया हो । समितिमा पठाइएमा विधेयकमाथि विस्तृत बहस हुने अवसर मिल्छ, तर फास्ट ट्रयाक अपनाउँदा सांसदहरूलाई संशोधनबारे विस्तृत छलफल गर्ने र सरोकारवालालाई राय दिने पर्याप्त समय मिल्दैन ।
सरकारले १५ माघ २०८१ मा नागरिकता संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । अब यसलाई आजै सदनबाट पारित गर्ने तयारी गरिएको छ । यसबाहेक, गृहमन्त्री लेखकले आजकै बैठकमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।




