काठमाडौं । मार्च १० मा प्रि-सेल खुल्ला भएको लिपमोटर बी१०ले अत्यधिक माग पाएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा. लि.का अनुसार ४८ घण्टाभित्रै बी१० ले ३१ हजार ६८८ अर्डर प्राप्त गरेको हो।
जसमा कुल अर्डरमध्ये ७३ प्रतिशत हिस्सा ओगट्दै लायडर सेल्फ-ड्राइभिङ संस्करणको माग सबैभन्दा बढी रहेको थियो। पहिलो घण्टामै १५ हजार १० भन्दा बढी अर्डर पुगेकोले यसको ईभी बजारमा उच्च माग भएको प्रमाणित गरेको छ। बी१० आरएमबी १ लाख २० हजार (करिब १६,६०० अमेरिकी डलर) भन्दा कम मूल्यको पहिलो इलेक्ट्रिक कार हो। यसमा लिडार प्रविधि छ।
लिपमोटरको लिप ३.५ प्लेटफर्ममा निर्मित यो कार आकर्षक डिजाइन, स्मार्ट ड्राइभिङ फिचरहरू, ठूलो टचस्क्रिन, र प्रिमियम साउन्ड सिस्टम सहित आउँछ। २१४ एचपी सम्मको पावर, ६०० किमी रेन्ज, र ८०० भोल्ट फास्ट चार्जिङको सपोर्टले ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन मात्र २० मिनेट लाग्ने भएकाले बी१० उच्च प्रदर्शन र उत्कृष्ट कार्यक्षमतासहित प्रस्तुत भएको छ।
ब्रान्डको लक्ष्य प्रत्येक महिनामा ४० हजार बी-सिरिज गाडी बिक्री गर्ने र २०२५ भित्र ५ लाख वार्षिक डेलिभरी पुर्याउने रहेको छ। लिपमोटर नेपाल बी१० लाई नेपाली बजारमा चाँडै ल्याउने सांग्रिला मोटर्सले जनाएको छ।




