नागरिक लगानी कोष : राष्ट्र निर्माणका लागि लगानी विस्तारको तयारी

काठमाडौं । नागरिक लगानी कोषले संकलित पुँजीलाई राष्ट्र निर्माण र सरकारका प्राथमिकतामा रहेका आयोजनाहरूमा लगानी वृद्धि गर्ने योजनालाई प्राथमिकता दिएको छ।

३५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरणको आवश्यकतामा जोड दिए। उनले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै उत्पादनमूलक क्षेत्र, कृषि, उद्योग, पर्यटन, होटलजस्ता क्षेत्रमा लगानी विस्तार गर्न चुनौती रहेको उल्लेख गरे। उनले नीतिगत सुधार आवश्यक रहेको औंल्याउँदै, त्यसतर्फ कोषले पहल गरिरहेको बताए।

कोषमा प्रविधिसँगै सेवाका नयाँ उपायहरू लागू गर्ने योजनाबारे जानकारी गराउँदै कार्कीले ‘नागरिक पेन्सन योजना’ को दायरा विस्तार गर्न सरकारको सहयोग अपरिहार्य रहेको बताए।

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोषले पारदर्शिता, जवाफदेहिता र सेवा सुधारलाई ध्यान दिनुपर्ने बताए। उनले संकलित वित्तीय स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले कोषले हालसम्म २ खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न सफल भएको बताए। उनले कृषि, पूर्वाधार, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि कोषको लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

विसं २०४७ मा स्थापना भएको कोषले प्रारम्भिक २ करोड ४४ लाख रुपैयाँको बचतबाट अघि बढेको थियो। हाल यसको चुक्ता पुँजी ६ अर्ब ४८ करोड पुगेको छ भने सातवटा योजनामार्फत २७३ अर्ब रुपैयाँभन्दा बढी वित्तीय स्रोत संकलन गरेको छ।

कोषले सेयर तथा डिबेञ्चरमा समेत लगानी विस्तार गरिरहेको जानकारी दिँदै, भविष्यमा अझ बढी क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरियो। कार्यक्रममा पूर्वअध्यक्ष डा. भोजराज घिमिरे, कर्मचारी युनियन अध्यक्ष नेत्रविक्रम थापा लगायतका व्यक्तित्वहरूले कोषको भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप