काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णयअनुसार स्थगित रहेको सर्वसाधारण शेयरधनी समूह (समूह ख) अन्तर्गतका सञ्चालकहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । उक्त निर्वाचनमार्फत तीन जना सञ्चालक चयन भएका छन्, जसले औपचारिक रूपमा पदबहाली गरेका छन् ।
बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन कम्पनी सञ्चालक पदमा निर्वाचित भएका हुन् । निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया २०८१ साल चैत २ गते वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको थियो । यस निर्वाचनबाट कम्पनी सञ्चालक समितिमा शेयरधनीको प्रतिनिधित्व थप मजबुत हुने विश्वास गरिएको छ ।
निर्वाचन सम्पन्न भएपछि शनिबार बसेको कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीनै जना सञ्चालकले अध्यक्ष गोविन्दलाल संघईसमक्ष सपथ ग्रहण गरे । सपथपछि उनीहरूले औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सञ्चालकको प्रवेशसँगै कम्पनीको समग्र व्यवस्थापन र शेयरधनीहरूको हितमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा नयाँ नेतृत्वले बीमा क्षेत्रमा नवीनतम सुधार र सेवाग्राहीहरूको विश्वास बढाउने दिशामा कार्य गर्ने उल्लेख गरिएको छ ।




