काठमाडाैं । सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका रूपमा चयन गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोट भएका तीन उम्मेदवारमध्ये तनहुँका डा. काफ्ले अन्ततः नियुक्त भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, प्रारम्भिक रूपमा १० जनाको आवेदन स्वीकृत गरिएको थियो। फागुन १८ र १९ गते सम्पन्न अन्तर्वार्ता तथा प्रस्तुतीकरणपछि डा. काफ्ले, डा. कृष्णप्रसाद अधिकारी, र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरियो, जहाँ अन्ततः डा. काफ्ले चयन भए।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुधार सुझाव कार्यदलमा डा. काफ्ले महत्वपूर्ण सदस्यका रूपमा आबद्ध थिए। उक्त कार्यदलले तयार पारेको प्रतिवेदनका लागि उनले विशेष योगदान दिएका थिए। अब, कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै, सोही प्रतिवेदन कार्यान्वयनको प्रमुख जिम्मेवारी उनकै काँधमा आएको छ।
यसअघि, डा. काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी पदमा रहीसकेका छन्। वैदेशिक रोजगार बोर्डमा रहँदा उनले श्रमिक र आश्रित परिवारका लागि विभिन्न कल्याणकारी कार्यक्रम ल्याएका थिए। उनको नेतृत्वमा राहत रकम ४०० प्रतिशतले वृद्धि भएको थियो भने बीमा कार्यक्रममा शत-प्रतिशत विस्तार गरिएको थियो। साथै, गम्भीर रोगको उपचारका लागि श्रमिक बीमा कार्यक्रमसमेत उनले सुरु गरेका थिए।
डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा झन्डै एक दशक वरिष्ठ अधिकारीका रूपमा कार्यरत रहे। अर्थशास्त्रमा विद्यावारिधी गरेका उनी विभिन्न विकास रणनीति निर्माण तथा प्राध्यापनमा समेत संलग्न थिए। अब, स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउने जिम्मेवारी उनले सम्हाल्नेछन्।




