नेपाल स्काउट सुधारको माग गर्दै शुद्धीकरण अभियानद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल स्काउटमा फैलिएको अनियमितता, अपारदर्शिता, तथा दुरुपयोगको अन्त्य गर्न गठित नेपाल स्काउट शुद्धीकरण अभियानले संगठनभित्र सुधारको माग राख्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले स्काउटलाई पारदर्शी, अनुशासित, र जवाफदेही संस्थाका रूपमा पुनःस्थापना गर्ने उद्देश्यले आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार, नीतिगत कमजोरी, आर्थिक अपारदर्शिता, कर्मचारी प्रशासनमा अन्यायपूर्ण नियमावलीको लागू, र कार्यस्थलमा देखिएको दुर्व्यवहार जस्ता समस्याका समाधानका लागि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

नेपाल स्काउट सुधारका लागि अभियानले निम्न चार बुँदे माग अघि सारेको छ :-

  • स्वतन्त्र छानबिन समिति गठन – संगठनभित्रका अनियमितता छानबिन गर्न स्वतन्त्र तथा उच्चस्तरीय समिति गठन गरिनुपर्छ।
  • कर्मचारी प्रशासन सुधार – स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ लाई पुनरावलोकन गरी कर्मचारीहरूको हित सुरक्षित गरिनुपर्छ।
  • आरोपित निर्देशकमाथि छानबिन – स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोप निष्पक्ष रूपमा छानबिन गरिनुपर्छ र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्छ।
  • पारदर्शी प्रशासन र वित्तीय प्रणाली – नेपाल स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाई संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गर्नुपर्छ।

फागुन ६ गते अभियानका प्रतिनिधिहरूले प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्रीमार्फत चार सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएका थिए। उक्त ज्ञापनपत्र प्रधानमन्त्री तथा नेपाल स्काउटका संरक्षकसमक्ष समेत पठाइएको थियो।

तर, सात दिन बितिसक्दा पनि सरकारको कुनै पहल नभएको भन्दै अभियानले आक्रोश व्यक्त गरेको छ। संयोजक अधिकारीले नेपाल स्काउटका नेतृत्व तह सरकारको दबाबमा रहेको आरोप लगाउँदै यदि सरकारले गम्भीर ध्यान नदिए, अझ कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री