अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना सम्पन्न गरेको छ ।

‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना सम्पन्न गरिएको बैंकले जनाएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरूलाई शुभकामना दिँदै बैंकले महिलाहरूलाई प्राथमिकता दिएको बताएका थिए ।

उनले बैंकका विभिन्न विभागमा महिलाहरूले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइआ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले सो दिन मात्रै नभई मार्च महिनाभरि नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । ‘महिलाहरू पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसरहरू उपलब्ध गराउनका लागि सदैव तयार छ’, उनले भने ।

बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो ।

काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरूको सहभागिता रहेका थिए ।

उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।

पुरुषहरूको सहभागितासँगै हिँड्नु मात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरूले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री