काठमाडाैं । नेपाल वायुसेवा निगमको काठमाडौं–दुबई उडानमा रहेको सगरमाथा न्यरोबडी विमान भैरहवामा प्राविधिक समस्याका कारण ग्राउन्डेड भएको छ । १४९ यात्रु लिएर काठमाडौंबाट दुबईका लागि बुधबार राति उडेको उक्त विमान भैरहवामा अवतरण गरेपछि इन्जिनमा ‘ओभर स्पिड प्रोटेक्सन’ समस्या देखिएपछि रोकिएको हो ।
छ दिनअघि मात्र चीनमा ६ करोड ६८ लाख रुपैयाँ खर्चेर विस्तृत मर्मत (फाइभ-सी-चेक) गराएर नेपाल फर्काइएको उक्त विमानले भैरहवाबाट दुबई उडान भर्नुपर्ने भए पनि समस्या देखिएपछि चालकदल र इन्जिनियरहरूले थप मर्मत आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
विमानमा समस्या देखिएपछि यात्रुहरूलाई व्यवस्थापन गर्न भैरहवा विमानस्थलमा सीमित कर्मचारी उपलब्ध थिए । राति अध्यागमन र विमानस्थलका अधिकारीहरूलाई पुनः बोलाएर यात्रुहरूलाई होटलमा व्यवस्थापन गर्न बिहान ४ बजेसम्म लागेको निगम स्रोतले जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष दिल्लीमा उपचारका लागि रहेकाले मर्मतसम्बन्धी समन्वय टाढाबाटै भइरहेको छ । निगमका अनुसार काठमाडौंबाट थप इन्जिनियर पठाएर विमान चाँडै सञ्चालनमा ल्याइने र दुबई पठाउने तयारी भइरहेको छ ।




