काठमाडौं । काठमाडौँ महानगरपालिका-४ सुकेधारास्थित धोविखोला करिडोरमा फागुन १४ गते अडवीर राई मृत अवस्थामा फेला परे । लैङ्गिक अल्पसङ्ख्यक राईको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
अडवीर ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ का स्थायी बासिन्दा भए पनि हाल काठमाडौँ-७ मा बस्दै आएका थिए । प्रहरीले हत्या आरोपमा दोलखाको मेलुङ गाउँपालिकाका विराट ठकुरीलाई पक्राउ गरेको छ । २९ वर्षीय ठकुरी काठमाडौँमा सञ्चालन हुने बा.४ ख ५९९३ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत थिए । उनलाई भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिइएको हो ।
अनुसन्धान अनुसार फागुन १३ गते राति बस चालकले गाडी पार्किङ गरेपछि ठकुरी चाबहिल चोक पुगेका थिए । भोलिपल्ट शिवरात्रि परेकोले, चाबहिल चोकमा महिलाको पहिरनमा भेटिएका अडवीर र ठकुरीबीच गाँजा किनबेचको विषयमा कुराकानी भएको थियो । अडवीरसँग १० पोका गाँजा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ठकुरीले आफू कार्यरत बस पार्किङ क्षेत्रमा गएर गाँजा किन्ने प्रस्ताव राखेपछि उनीहरू सुकेधारातर्फ लागेका थिए । करिडोरमा पुगिसकेपछि गाँजाको मूल्यबारे विवाद उत्पन्न भएको थियो । अडवीरले १० पोका गाँजाको ५ हजार रुपैयाँ मागे पनि ठकुरीसँग केवल ५ सय रुपैयाँ मात्र भएकोले उनले एक पोका मात्र किन्न चाहेका थिए । यही विवादका क्रममा अडवीरले आफ्नो समूहलाई करिडोरमा बोलाउने प्रयास गरे ।
त्यसपछि, ठकुरीले अडवीरलाई ढुङ्गाले प्रहार गरी हत्या गरेका थिए । हत्या गरेपछि शवलाई नजिकैको शौचालयमा लगेर म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपिएको थियो । त्यसपछि ठकुरी बसभित्र गएर सुतेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, घटना सामान्य विवादबाट भएको देखिन्छ ।
प्रहरीले घटनास्थलको सीसीटीभी फुटेजको सहायताले बस र आरोपीको पहिचान गर्दै उनलाई पक्राउ गर्न सफल भएको थियो । हाल ठकुरीलाई प्रहरी वृत्त महाराजगञ्जले ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।




