निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी शुक्रबार सार्वजनिक हुने भएको छ। निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नयाँ म्याग्नाइट सार्वजनिक गर्न लागेको हो।
नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब–फोर मिटर एसयूभीका रुपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टि र प्रविधिमा निकै सुधार गरिएको छ। नवप्रवर्तन र ग्राहककेन्द्रित डिजाइनजस्ता विशेषताका कारण नयाँ म्याग्नाइटको उपस्थितिसँगै नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने विश्वास कम्पनीले लिएको छ।
विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा लन्च भएको म्याग्नाइट नेपालमा २०२१ मा पहिलो पटक लन्च भएको थियो। हालसम्म यो कार १ लाख ५० हजारभन्दा बढी युनिट बिक्री भइसकेको छ।
पायोनिर मोटोकर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाका अनुसार निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुवै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ।
‘नयाँ निसान म्याग्नाइट फेसलिफ्टको लन्चले हाम्रो उत्कृष्टता प्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ र नेपालका हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई थप मजबुत बनाएको छ’, उनले भने, ‘हामी विश्वस्त छौँ कि नयाँ म्याग्नाइटले नेपाल र अन्य बजारहरूमा निरन्तर प्रभाव पार्नेछ।’
कस्तो छ डिजाइन?
नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटरसहित स्लिक एलईडी हेडलाम्प उपलब्ध गराइएको छ।
यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डिआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ।
रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्स छ।
६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
प्रिमियम र विलासी इन्टेरियर
थुप्रै फर्स्ट–इन–क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ। जसमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, हनीकम्ब सिलाइ ढाँचा भएका लेदर रिटहरु राखिएका छन्। साथै, यसको ढोका, पार्किङ ब्रेक लिभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदर सजावट दिइएको छ।
क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सिट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडिको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्नेजस्ता विशेषता पाउन सकिन्छ।
पछाडि बस्ने प्यासेन्जरका लागि समेत पर्याप्त स्पेस पाइने यस कारमा दिइएको हाई कमान्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्सजस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ।
उन्नत प्रविधि
नयाँ निस्सान म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ। यसमा हिट गार्ड सहितको प्रिमियम सिलाइयुक्त लेदर सिटहरू, मेमोरी फंक्ससनसहितको मल्टि कलर एम्बिएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजरजस्ता विशेषता पाउन सकिन्छ।
६० मिटर परबाटै रिमोटको सहायतामा इन्जिन स्टार्ट गर्न सकिन्छ। यसका लागि नयाँ ग्लोबल स्मार्ट की उपलब्ध छ। एसयूभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभीएस, पूर्ण एलईडी बाहिरी प्याक (हेडलाम्प, टेललाम्प, डिआरएलएस, इन्डिकेटर, फ्रन्ट फग ल्याम्प) र चारैतिर अवलोकन गर्ने मोनिटर पनि उपलब्ध गराइएको छ।
नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रिन छ। वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम र क्रूज कन्ट्रोल जस्ता फिचर राखिएका छन्। साथै, नयाँ युगका ग्राहकलाई लक्षित गरी यसमा ड्यासक्याम, वायरलेस चार्जर, जेविएल स्पिकर, पडल ल्याम्प र एलईडी स्कफ प्लेटजस्ता फिचर समावेश गरिएको विशेष प्रविधि प्याक उपलब्ध गराइएको छ। यी फिचरले नयाँ म्याग्नाइटलाई आधुनिक र प्रिमियम बनाएको छ ।
शक्तिशाली प्रदर्शन
यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ।
प्रतिलिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने यस एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तीव्रता सुनिश्चित गर्दछ। निसानको स्पोर्ट्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाइटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिङ सिलिन्डर ब्लक प्रविधि’ उपलब्ध गराइएको छ।
१.० नेचुरल्ली एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध यस कारको इन्जिनलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ। साथै यो म्यानुअल र ईजेड–शिफ्ट (एएमटी) अप्सनमा समेत उपलब्ध छ ।
सुरक्षा फिचर
नयाँ म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टी फिचर दिइएको छ।
कारमा ६ वटा एयर ब्याग, भेइकल डाइनमिक कन्ट्रोल (भीडीसी) ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबीएस, ईबीडी र टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत थुप्रै फिचर पाउन सकिन्छ।
साथै यसमा, थ्री–प्वाइन्ट सिट बेल्ट, सिट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइसोफिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टहरूमा अनिवार्य गरिएको छ। ६७ प्रतिशत हाई–टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरी निर्माण गरिएको यस एसयूभीमा निसानले ३ वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी सुविधा दिएको छ।




