काठमाडौँ । अब क्यान्सर पीडित बालबालिकाले चारवटा प्रमुख अस्पतालबाट निःशुल्क औषधि पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचार अभियान तीन महिनादेखि लागू भइसकेको छ। यो अभियानलाई अझ प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ, तथा सेन्ट जुड चिल्ड्रेन्स रिसर्च सेन्टर जस्ता संस्थाहरूले औषधि आपूर्ति गरेको मन्त्री पौडेलले बताए।
निःशुल्क औषधि वितरण काठमाडौँको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालबाट हुने व्यवस्था गरिएको छ। मन्त्री पौडेलले भने, ‘यी चारवटा अस्पतालमार्फत हामी क्यान्सर पीडित बालबालिकालाई उपचार निःशुल्क प्रदान गर्दै आएका छौँ। अब डब्लुएचओ तथा अन्य संस्थाहरूको सहयोगले औषधि आपूर्तिलाई थप सहज बनाएको छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले औषधि वितरण प्रणालीलाई पारदर्शी बनाउन स्वचालित सिस्टम लागू गरिने बताए। उनले औषधि आवश्यकता अनुसार मात्र वितरण गरिने र कुनै पनि व्यक्तिगत सिफारिसको भरमा औषधि नदिइने स्पष्ट पारे। ‘यो प्रणालीले औषधि वितरणलाई व्यवस्थित मात्र बनाउने छैन, आवश्यकता अनुसारको वितरण सुनिश्चित पनि गर्नेछ,’ मैनालीले भने ।
ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (GPaCCM) ले आगामी पाँच वर्षसम्म ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यस कार्यक्रम अन्तर्गत नेपालले पहिलो चरणमा दुई हजार तीन सयभन्दा बढी प्याक औषधि प्राप्त गरिसकेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालस्थित कार्यालयले सेन्ट जुड चिल्ड्रेन्स रिसर्च सेन्टरसँग सहकार्य गर्दै औषधि खरिद तथा आपूर्ति व्यवस्था मिलाएको हो। मन्त्री पौडेलका अनुसार, ‘यो कार्यक्रमलाई दीगो बनाउनका लागि आवश्यक योजनाहरू तयार गरिँदै छन्। पाँच वर्षपछि पनि यसलाई निरन्तरता दिन सरकार जिम्मेवार हुनेछ।’
नेपाल दक्षिण एसियाली क्षेत्रका छ मुलुकमध्ये एक हो, जसले यस अभियान अन्तर्गत औषधि आपूर्तिको सुविधा प्राप्त गरेको छ।



