काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसंग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसंग जोडिएको रिट निवेदनमा दरपीठ गरिदिएका हुन् ।
यस्तै विषयसंग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै निवेदन दर्ता नगरिएको सर्वोच्च अदालतले जनाएको छ । किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।
दरपीठ आदेशमा चारवर्ष पुरानो रिट निवेदन बुधवार पेशीमा चढेको उल्लेख छ । केबलकार निर्माण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग सहित आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकी थिइन् ।



