काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो ।
नेपाल विद्युत् प्राधिकरणको सहयोगमा रु एक करोड लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताए । उनका अनुसार, राजमार्गसँगै जोडिएकोे मेरो पाँच कट्ठा जमिन थियो, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लागेर उक्त जमिनमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएँ । राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ स्टेशनको क्षमता बढाउँदै चालकका लागि ‘रिफ्रेस सेन्टर’ समेत सञ्चालन गर्ने योजना छ ।
नारायणघाट–बुटवल सडकको एक सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको एक मात्र फास्ट चार्जिङ स्टेशनमा चौबीसै घण्टा विद्युतीय गाडी चार्ज गर्न मिल्ने सुविधा रहेको उनले बताए । ‘अहिले दैनिक ५० वटासम्म सवारी चार्ज भइरहेका छन्, विस्तारका क्रममा रहेको यस सडकको काममा ढिलाइ हुँदा समस्या भएको छ’ उनले भने । बाटो विस्तारपछि थप १० वटा ‘नोजल’ थप गर्ने तयारीमा रहेको उनले बताए ।
विद्युतीय गाडी चार्ज गर्ने बेलासम्म यात्रुलाई असुविधा नहोस् भनी आफूले चमेनागृह सञ्चालनमा ल्याएको अधिकारीले बताए । ‘यहाँ सवारी मर्मत गर्ने ग्यारेज पनि थप गर्ने योजना छ’, उनले भने । लोकाहामा सञ्चालनमा आएको यस चार्जिङ स्टेशनबाट जिल्लाका विद्युतीय गाडी प्रयोगकर्तासँगै पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारीलाई निर्धक्क भएर यात्रा गर्ने वातावरण सिर्जना भएको उनको भनाइ छ ।




