केएमसी ग्रुपको लगानीमा काठमाडौँमा खुल्यो चारतारे होटल बेस्ट वेस्टर्न प्लस, आईपीओ पनि आउने

काठमाडौं । शिक्षा क्षेत्रको अग्रणी केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ। केएमसी ग्रुपका संस्थापकहरूकै लगानीमा स्थापित रायन होटल लिमिटेडले विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा ल्याएको हो।

बुधबार आयोजित एक विशेष समारोहमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले होटलको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा होटलका अध्यक्ष रामेश्वर अर्यालले पर्यटन क्षेत्रमा यो आफ्नो प्रवेश मात्र रहेको र अझै पाँचतारे होटल निर्माण र सञ्चालन गर्नका पनि तयार रहेको बताए।

उनले भने, ‘आजको दिन हाम्रा लागि निकै गौरवको दिन हो। शिक्षामा हामी देशकै ठूलो र अगुवा शैक्षिक सञ्जाल निर्माण गर्न सफल भएकै थियौँ। विभिन्न १० वटा अब्बल शैक्षिक संस्थाहरूबाट १४ हजार विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिइरहेका छौँ। आजका दिनबाट हामी शिक्षासँगै अतिथि सत्कार व्यवसायमा पनि फड्को मारेका छौँ। यसबाट अब हाम्रा होटल व्यवस्थापनका विद्यार्थीले प्रशिक्षार्थीका रूपमा काम गर्न बाहिर जानुपर्ने छैन। साथै पर्यटन क्षेत्रबाट देशलाई समृद्धिको उचाइमा लैजान हाम्रो पनि महत्त्वपूर्ण योगदान रहनेछ।’

काठमाडौँको पिंगलास्थानमा अवस्थित यो चार तारे होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ। पशुपतिनाथ मन्दिरबाट पनि यो पैदल दूरीमा पर्छ।

पश्चिमा फ्लेभरको विश्वस्तरीय सुविधा र नेपाली संस्कृतिको मिश्रण रहेको यस होटेलले नेपाली अतिथि सत्कार उद्योगमा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको व्यवस्थापनले जनाएको छ। होटलमा कुल ८७ वटा कोठा छन्। जसमध्ये ४ वटा सुइट रुम, ७ वटा प्रमियम रूम, १२ वटा सुपर डिलक्स र ६१ वटा डिलक्स रूम सञ्चालनमा छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री