काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले ७-८ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जा दिइरहेका छन् । यसअघि कर्जाको ब्याजदर १५ प्रतिशत नाघेको थियो, त्यस हिसावले हाल ब्याजदर आधा सस्तो भइसकेको छ ।
तरलता फालाफाल हुनाले बैंकले फोन गरेरै ग्राहकलाई सजिलै कर्जा दिन थालेका छन् । कर्जाको सेवा शुल्क र ब्याजदर घटाउने पनि प्रतिस्पर्धा चलेकै देखिन्छ । कर्जाको माग नहुनुको मुख्य कारण नै सरकारले लिइरहेको कसिलो र अस्थिर नीति भएको उद्योगी-व्यवसायीहरूको भनाई छ ।
नीतिगत स्थिरता नभएककै कारण ब्याजदर घटिरहेको भएपनि कर्जा प्रवाह हुन नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए । ‘आज पैसा थुप्रिएको छ र ब्याज घटेको छ । मैले अहिलेको ब्याज हेरेर उद्योगमा लगाए भने छ महिनापछि यो ब्याजदर कायम रहन्छ भन्ने छैन । हिजोकै जस्तो ब्याजदर बढेर धेरै भयो भने मैले के गर्ने ?,’ उनले अगाडि भने, ‘स्थिर नीति भएको ठाउँमा यसरी ब्याजदर बढाउने चलन हुँदैन । हाम्रोमा ब्याजदर स्थिर नहुँदा लगानीका लागि कर्जा लिने अवस्था भएन ।’
निजी क्षेत्रमा गएको कर्जालाई नियन्त्रण गर्ने नीति सरकारले लिएकाले धेरैलाई कर्जा लिन निरुत्साहित गरेको उनीहरुको भनाई छ । नेपाल राष्ट्र बैंकको विवरणअनुसार हाल करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको छ । गत मंगलबारसम्मको विवरण हेर्दा अहिले नेपालका कुल निक्षेप रकम साढे ६६ खर्ब रुपैयाँ रहेको देखिन्छ ।
घरजग्गा पनि छैन उत्साह
आर्थिक संकटले घरजग्गा क्षेत्र लामो समय मन्दीमा फस्दा करिब दुई वर्षदेखि मूल्य स्थिर छ । गत असोजको तुलनामा कात्तिकमा संख्याका आधारमा घरजग्गा कारोबार बढे पनि राजस्व घटेको छ । घरजग्गा व्यापारको सिजन कात्तिकदेखि सुरु भए पनि कारोबार बढ्न नसकेको व्यवसायी बताउँछन् ।
गत असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाटको लिखत पारित हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । कित्ताकाटसँगै कारोबारको लिखत पारित पनि बढेको छ । गत असोजमा ३० हजार ५ सय २७ वटा कारोबारको लिखत पारित हुँदा कात्तिकमा ३३ हजार ५ सय १४ वटा भएको विभागको तथ्यांक छ ।
कारोबार र कित्ताकाट बढे पनि राजस्व भने असोजको तुलनामा कात्तिकमा १२.२४ प्रतिशतले घटेको छ । गत असोजमा ३ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठाउँदा कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै उठेको विभागको भनाइ छ ।




