काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज थपेको छ । नयाँ आएको जहाज एटिआर–७२ हो । योसँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले कल साइन एननाइन एओजी जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको हो ।
बुद्ध एयरसँग ३ वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज छन् । बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो । उक्त जहाजको डिरजिष्ट्रेसन प्रक्रियामा छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरू आफ्नो समय अनुकूल उडान भर्न सक्ने बताए ।
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यस्तै पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि गरिरहेको छ ।




