काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले मोरङको बेलबारी नगरपालिकामा उद्यमीहरुको व्यवसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यसका लागि बैंकले नगरपालिकासँग समन्वय गरेको थियो ।
वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रसारणसमेत गरिरहेको जनाएको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दैआएको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रतिकृया दिनुहॊस