[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवाबाट कास्कीको पोखरा लगिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानमा रहेका सभापति लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा लगिएको हो ।
बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ ढिला गरी सकिएको थियो । लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध एयरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे १ बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
विमानस्थल खुल्ने बित्तिकै लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जानकारी दिए । सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग तीन दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
गत मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको न्यायधिवक्ता पौडेलले उल्लेख गरे । बयान लिने क्रममा जिल्ला न्यायाधिवक्ता पौडेलसहित प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । लामिछानेसँग बिहिबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो । लामिछानेलाई राति ८ः २५ बजे सरकारी वकिल कार्यालयबाट बाहिर निकालिएको थियो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो ।
प्रतिकृया दिनुहॊस