अब नेपालको आफ्नै रेल

काठमाडौं । सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्म आफ्नै रेल किनेर संचालन गर्ने भएको छ । भाडामा ल्याएर चलाउने कि आफ्नै रेल चलाउने भन्ने लामो छलफलपछि सरकारले अन्ततः आफ्नै रेल संचालन गर्ने भएको हो ।

भारत सरकारसँग भाडामा लिएर संचालन गर्ने योजनालाई थाँती राख्दै रेल किनेर नै चलाउन लागिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार १ अर्ब रुपैयाँमा रेल किन्न लागिएको हो । १० डिब्बा सहितको दुर्इ सेट रेल किन्ने योजना बनाएको महानिर्देशक मिश्रको भनाई छ ।

एउटा ट्रेन सेटमा सहायक र मूख्य गरि दुर्इवटा इन्जिन हुन्छन् भने पाँचवटा डिब्बा हुन्छ । एउटा डब्बामा ७२ जनाका लागि सीट हुन्छ । भाडामा लिएर रेल संचालन गर्दा घाटा हुने भएपछि रेल नै किनेर संचालन गर्न लागिएको विभागले जनाएको छ । ‘रेल किन्ने ठूलो कुरो होर्इन ५० करोड हामीले बजेटमै पाएका छौ त्यसमा ५० करोड थपे पुग्छ यसका लागि अर्थ मन्त्रालय तयार छ ।’ महानिर्देशक मिश्रले भने । प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले आफ्नै रेल किनेर संचालन गर्नुपर्ने बताएपछि विभाग अहिले रेल किन्ने प्रक्रियामा लागेको हो ।

रेल किन्नका लागि दुतावास मार्फत कुटनीतिक पहल सुरु गरिएको रेल विभागले जनाएको छ । भारतीय रेल प्रणालीभित्रको डिजेल मल्टि इलेक्ट्रोफायरिङ (डिमो) मोडलको रेल किन्ने योजना समेत बनाएको विभागको भनाई छ । डिमो रेल दुवैतिर संचालन गर्नुपर्ने भएकाले यसलार्इ घुमाउनुपर्दैन । छोटो दुरीका लागि उक्त मोडलको रेल उपयुक्त हुने विभागको निष्कर्ष छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री