काठमाडौँ । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका रेग्मीलाई भदौ १ देखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो ।
रेग्मीले २००८ मा ग्लोबल आईएमई बैंकसँग जोडिएका थिए । उनी बैंकमा चिफ क्रेडिट अफिसर, चिफ अपरेटिङ अफिसर र चिफ बिजनेस अफिसरको भूमिका निर्वाह गरिसकेका छन् । उनले युनिभर्सिटी अफ वेल्स, बेंगर बेलायतबाट अर्थशास्त्र र बिजनेस एकाउन्टमा स्नातकोत्तर गरेका छन्। उनले फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष समेत रहेर काम गरिसकेका छन् ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।
बैंकमा हाल रत्नराज्य बज्राचार्य सीईओ रहेका छन् । उनको कार्यकाल सकिएसँगै भदौ १ देखि रेग्मीले आफ्नो सीईओ कार्यकाल सुरु गर्नेछन् ।
सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालक पदमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १७ (क) अनुसार योग्यता तथा अनुभवप्राप्त काठमाडौंकी भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गरेको छ।




