काठमाडौं । अछाममा खच्चड उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई प्रहरीलाई पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।
अछाम पुगेका डीआईजी केसीले प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीलाई नगद पुरस्कार प्रदान गरे । प्रदेश प्रहरी कार्यालयले जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका-९ स्थित कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुँडिदा पुलमा फसेका खच्चडहरूको उद्धारमा साहसिक भूमिका निर्वाह गरेको भन्दै दुवै जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
पुरस्कार वितरण समारोहमा डीआईजी केसीले दुवै प्रहरीको साहसिक कार्यको प्रशंसा गर्दै अभिलेखमा रहने गरी नगदसहित पुरस्कृत गरिएको बताए । उनले प्रहरीको कर्तव्यपरायणता र साहसको उदाहरण प्रस्तुत गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे ।
यस पुरस्कारले अन्य प्रहरी कर्मचारीहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । डीआईजी केसीले भविष्यमा पनि यस्ता साहसिक कार्य गर्ने प्रहरीलाई सम्मानित गर्ने प्रतिबद्धता व्यक्त गरे ।



