कांग्रेसबाट पार नलाग्ने ठानेर ‘यू-टर्न’ भएँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट पारेका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेताकार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।’

उनले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए । ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ,’ उनले भने, ‘हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।’

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।’

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गरे । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन …

प्रतिकृया दिनुहॊस