काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।
मन्त्रालयका अनुसार निगम प्रमुुखका लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, ई. सहदेव चन्द, दिलीप शेखर श्रेष्ठ, चितवनका ई. डा. डोलप्रसाद चापागाईं, मोरङका पङ्कजकुमार दास, माधव रेग्मी, ई. आमोदप्रसाद चौधरीले आवेदन दिएका छन् । धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुघ्नप्रसाद पुडासैनी निगमको कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा छन् ।
आयल निगममा ०७५ यता खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट थालिएको हो । आवेदन दिएका मध्ये सहदेव चन्द हाल नेपाल राष्ट्र बैंकमा उपनिर्देशक पदमा कार्यरत छन् । बसन्तकुमार पाण्डे हाल हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक छन् । गोरखाका चण्डिका प्रसाद भट्ट उद्योग मन्त्रालयमातहतकै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक छन् । बाग्लुंङका डोलिन्द्र शर्मा हाल सीवाईसी नेपाल लघुवित्तका प्रबन्ध संचालक छन् । उनी साझा प्रकाशनका महाप्रबन्धक भईसकेका छन् ।
मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त खुलाइएको थियो ।




