न्यायाधीशले तानेनन् गोला, अफताब आलमविरुद्धको सुनुवाइ स्थगित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

रौतहट जिल्ला अदालतमा पुस २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको छ । ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

२०७६ साल १८ कात्तिकमा रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विष्फोट भएको थियो । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो ।

आलमले २०६४ सालको संविधानसभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विष्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विष्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बम विष्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले सो विष्फोटमा घाइते भएकालाई ज्यूँदै इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सो मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । उच्च अदालत वीरगञ्जले २४ माघ २०७६ मा जिल्लाको आदेश नै सदर गरेको थियो ।

आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको बटो खुलेको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । २२ वर्षीय पिन्टु भनिने त्रिलोकीप्रताप सिंह र २३ वर्षीय बसिअख्तर मिया कवाडी, नाम नखुलेका एक जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र २० भन्दा बढीलाई इँटाभट्टाको दाउरा हाल्ने म्यानमा खसालेर जलाएको अभियोग छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस