काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना पनि नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको जारी बैठकमा सहभागी भएका प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्न बताएका हुन् ।
छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेका थिए । जवाफमा उनले भने, ‘हिजो भारतीय विदेशमन्त्रीसँग मेरो “वान टु वान” र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो । भेटमा मैले नेपालको राष्ट्रिय हित र विद्युत् व्यापार सम्झौताबारे नै कुरा गरेको छु । विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ । नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ ।’
प्रधानमन्त्रीले अरू कुनै भ्रम राख्न जरुरी नरहेको बताए । ‘२० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने होइन । यसमा नेपालको पनि निर्णय र साझेदारी रहन्छ,’ उनले भने, ‘मुख्य कुरा जसले उत्पादन गरेको भए पनि दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता भएको छ । अरू कुनै भ्रम राख्न जरुरी छैन । सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुन्छ ।’



