काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा पुस १३ गते सम्पन्न साधारणसभाले बोनस शेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
उक्त सभाले बैंकको आर्थिक वर्ष (आव) २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आव २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको बैंकले जनाएको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि’ को आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, सभाले बैंकका शेयरधनीहरूलाई ३.७५ प्रतिशत बोनस शेयर र ६.८० प्रतिशत नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा जम्मा १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
साधारणसभाले आव २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पीकेएफ टीआर उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यस्तै, बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरिएको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस