‘सालार’मा मेनुकाको पाश्र्व गायन

काठमाडौं । भारतीय रियालिटी शो ‘इण्डियन आइडल’ मा आफ्नो प्रस्तुतिमार्फत प्रशंसा बटुल्दै आउनुभएकी नेपाली चेली मेनुका पौडेलले चलचित्र ‘सालार’मा गीत गाउनुहुने भएको छ । उहाँले प्रभास स्टारर बहुप्रतिक्षित भारतीय चलचित्र ‘सालार’ मा पाश्र्व गायनको अवसर पाउनुभएको हो ।

आइतबार राति प्रसारण भएको इण्डियन आइडलको एपिसोडमा मेनुकाले सालारमा गीत गाएकोबारे जानकारी दिनुभएको थियो । चलचित्रमा उहाँले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नुहुनेछ । ‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो । जहाँ म पहिलो प्लेब्याक गायनका पहिलो गीत गाइरहेकी छु । मेरोतर्फबाट निकै राम्रोसँग गाउनेछु,’ मेनुकाले भन्नुभएको छ ।

एपिसोडमा मेनुकाले सालारका लागि स्टुडियो पुगेर गीत गाउन लागेको भिडियो समेत देखाइएको थियो । मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश पनि प्रसारण गरिएको थियो । यो खबर सुनेपछि सबै निर्णयकहरूले उठेर सम्मान र खुशी व्यक्त गरेका थिए ।

निर्णयक श्रेया घोषालले केजीएफ निर्माण कम्पनीको नयाँ चलचित्र ‘सालार’ र अब्बल संगीतकार रवि बसरुरको गीत गाउन पाउनु ठूलो कुरा रहेको बताउनुभएको थियो । यसअघिको एपिसोडमा एक गेष्टले पनि मेनुकालाई चलचित्रका लागि प्रस्ताव गरेका थिए ।

मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिनुभएको थियो । तर, कम भोट पाएपछि उहाँ शीर्ष ११ बाट बाहिरिनु भएको थियो । झापा बिर्तामोडकी उहाँले एक दर्जन बढी नेपाली गीत गाइसक्नु भएको छ भने चलचित्र ‘लिलीबिली’को ‘हावा सरी’ गीतबाट पाश्र्व गायनमा डेब्यू गर्नुभएको थियो । -हिमालय टाइम्सबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री