काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको अभियोगमा जेल परेका ६ जना रिहा भएका छन्। उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश एक जना गरी ६ जना बिहीबार जेलबाट रिहा भएका हुन् ।
धरौटी तिरेर रिहा हुनेमा सन्दीप रायमाझी, शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी छन् भने आशिष बुढाथोकी साधारण तारेखमा छुटेका हुन् ।
६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्। शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै रहेका छन् । अदालतले १५ लाख धरौटी माग गरेका रिजाल धरौटी नबुझाएका कारण रिहा भएका छैनन् ।




