राष्ट्रपति पौडेलले दिए ‘कुमारी इन्द्रजात्रा पर्व,२०८०’ को शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्रा पर्व, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले विज्ञप्ति जारी गर्दै शुभकामना दिएका हुन् । उनले यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको बताएका छन् ।

पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको उनले बताए ।

शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएको बताए ।

मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाहरूमा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा परस्पर विश्वास, सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको उनले बताएका छन् ।

अन्तमा मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले प्राकृतिक श्रोतहरूको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उग्रतारा मेलामा देउवा दम्पती (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध डडेल्धुराको उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सकिएको छ । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले स्थानीय वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहॊस