ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउनसक्ने

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।

अब बहसपछि कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने थुनछेक आदेश आउन सक्नेछ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर संगठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो ।

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप