काठमाडौं । नेपाली जनशक्ति विदेश गइरहेको बेला नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढेको छ । पछिल्लो वर्ष श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या बढेको हो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या ३७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको संख्या दुई हजार ९९४ रहेको छ । जसमा नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको संख्या एक हजार ६२५ जना रहेको छ । जब कि आव २०७८/७९ मा यो संख्या दुई हजार १८१ जना थियो । जसमा नयाँ ९५० जना थिए भने श्रम नवीकरण गर्ने एक हजार २३१ जना थिए । जुन संख्या आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा ८१३ जना बढी हो ।
नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । आव २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिएर काम गर्नेमध्ये दुई हजार २१ जना (६७ प्रतिशत) रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलंका, बंगलादेश, जर्मनीलगायतका देशका रहेका छन् ।
श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् । हाल नेपालमा ८९ वटा देशबाट रोजगारीका लागि विदेशी कामदार आउने गरेको विभागको तथ्यांकमा छ ।




