काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो ।
सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र आज प्रतितोला एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




