काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिएकोमा आशंका व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौँको प्रमाणपत्र वितरण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै डा. कोइरालाले यस्तो आशंका व्यक्त गरेका हुन् ।
एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएको उनको भनाई छ । ‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थ मन्त्रालय मातहत थियो केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाऊँ भनियो तर अहिलेसम्म लगिएन,’ उनले भने, ‘यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’
कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्नु राम्रो नभएको पनि बताए । उनले भने, ‘पछिल्लोपटक पनि यस्तै भएको थियो । यसबारेमा पत्रकारहरूले लेख्नुपर्छ ।’



