राजनीतिक उद्देश्यको निम्ति ‘हत्त न पत्त’ प्रधानमन्त्रीको राजीनामा माग्ने संस्कार राम्रो होइन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक उद्देश्यको निम्ति प्रधानमन्त्री र मन्त्रीको राजीनामा माग्नु राम्रो नभएको बताएका छन् । सात दिनको इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

मन्त्रीहरूलाई स्पष्टीकरण दिने मौका दिनुपर्ने उनको भनाई छ । ‘राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्री राजीनामा मागिहाल्ने, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जुन संस्कार बस्न खोजेको छ त्यो राम्रो होइन,’ उनले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौका पनि राम्रोसँग नदिईकन राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने कल्चर जुन छ यसले हामीलाई राम्रो ठाउँमा लाग्दैन ।’

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्गदर्शन भएको प्रधानमन्त्रीले बताए । सम्मेलनको क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बङ्गलादेशबिचको सहकार्य जस्ता विषयहरू छलफल भएको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताको लागि यो महत्त्वपूर्ण हुने बताए । उनले लम्पी स्किनको बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको बताए । सरकार लम्पी स्किनको निदानतर्फ सचेत रहेको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप