काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवलाई बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यादव विरुद्ध जिल्ला अदालत रुपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देहीमार्फत् जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादवले दलले टिकट नदिएको झोँकमा पार्टी परिवर्तन गर्दै आएका थिए । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए ।
शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो । २०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बनेका यादव निर्वाचनमा भने पराजित भएका थिए ।




