काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् । कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि उनीहरूलाई रोकिएको हो ।
अध्यागमन विभागकाअनुसार रोकिनेमा १ पुरुष र १४ जना महिला छन् । डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको विभागका महानिर्देशक झलकराम अधिकारी जानकारी दिए । ‘उक्त विषयमा अध्ययन हुँदैछ, छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने ।
उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ । उनीहरूलाई एससीसी मेनपावर कम्पनीले आइतबार बिहान १० बजेको एयर अरेबियाको विमानमार्फत जोर्डन पठाउन लागेको थियो ।
मेनपावरका सञ्चालक अबुल शाहले सबै जना कम्पनीबाटै जारी भएको भिसा लिएर जाने क्रममा अध्यागमनले रोकेको बताए । ‘उहाँहरू जिरो कस्टमा जान लागेका हुन् । सबै कम्पनीले नै भिसा पठाउने, टिकट समेत कम्पनीले नै काटेर पठाएको थियो । तर, वर्किङ भिसा जारी नभएकाले फर्कायौ भनिरहेको छ । जबकि हामीले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सबै कागजात पेश गरेपछि श्रम स्वीकृति दिइएको थियो,’ शाहले भने ।




