एसइई २०७९ को नतिजा अघिल्लो वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गरिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार यस वर्ष पुरानै पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिने छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका-२०७८ कार्यान्वयन भइसकेको भन्दै उनले अर्को वर्षदेखि एसइईमा पनि नयाँ व्यवस्था लागू हुने बताए । ‘कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका-२०७८ कार्यान्वयन भइसकेको छ, अब एसइईमा पनि नयाँ पाठ्यक्रम आउँछ, सोहीअनुसार नयाँ व्यवस्था लागू हुन्छ,’ उनले भने ।

एसइईको नतिजा सकभर बिहीबार सार्वजनिक गर्ने योजना भए पनि प्राविधिक कारण नतिजा प्रकाशन हुन नसके शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेकोसमेत शर्माले जानकारी दिए । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री