काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ललिता निवास प्रकरणमा थप ७ जनालाई पक्राउ परेको छ । सिआईबीले पूर्व निर्वाचन आयुक्तदेखि व्यवसायी गरी ७ जनालाई मंगलबार पक्राउ गरेको हो ।
पछिल्लो पटक पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परे । उनलाई सिआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । पूर्व निर्वाचन आयुक्त शाह ललिता निवास प्रकरणको समयमा मालपोत कार्यालय, डिल्ली बजारमा कार्यरत थिए । निर्वाचन आयोगमा ६ वर्षे कार्यकाल पूरा गरेर उनले अवकाश पाएका हुन् ।
प्रवक्ता कडायतका अनुसार प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व सह–सचिव कलाधर देउजा, पूर्व उपसचिव भूपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ ।
सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।




