काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेटलाई निराश नहुन आग्रह गरेका छन् । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत शनिबार नेदरल्याण्ड्सविरुद्धको निर्णायक खेलमा नेपाल ७ विकेटले पराजित भएपछि ओलीले मिहिनेतका बाबजुद पराजित भएकाले टोलीलाई निराश नहुन आग्रह गरेका हुन् ।
उनले नेपाल र नेदरल्यान्ड्सबीचको क्रिकेट खेल आफूले ‘लाइभ’ हेरेको बताए । अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत कहिलेकाहीँ मिहिनेतका बाबजुद पनि परिणाम प्राप्त हुन नसक्ने उल्लेख गरे । ‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरें । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें,’ ओलीले भनेका छन्, ‘आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मेहनत जननी हो भने परिणाम शीशु । कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन ।’
टिम नेपाल फर्किएपछि सँगै खाना खाने गरी भेटौँला भन्दै उनले एउटा असफलता यात्राको अन्त्य नभएको बताए । ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ,’ अध्यक्ष ओलीले भने ।




