इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रूपमा सञ्चालनमा आउने भएको हो ।
रमडाको मातृ कम्पनी विंडहाम होटलस् एण्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतबिच भारतको दिल्लीमा शुक्रबार होटल सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रवर्द्धन र होटल व्यवसायको प्रवर्द्धनमा नयाँ खुड्किलो भएको बताएका छन् । उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
उनले विंडहाम होटेल्स कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन् । कार्यक्रममा बोल्दै विंडहाम होटलस् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्यता दिने बताए ।
कस्तो हुनेछ होटल ?
निर्माणाधीन पाँच तारे उक्त होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा हुने कम्पनीले जनाएको छ । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन् ।
भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरूलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायिहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ ।
होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।
के हो रमडा ?
विंडहाम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनी मानिन्छ । यो अमेरिकी कम्पनीले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ ।
होटल व्यवसायमा अघि बढ्दै बस्नेत
नेपालमा एक पछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइरहेका बस्नेतले हालै मात्र काठमाडौँमा निर्माणाधीन पाँच तारे होटलमा एक्कोर समूहको मक्र्योर ब्राण्ड भित्राएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रूपमा नेपालको पर्यटन विकासमा व्यवसायिहरुको संस्थागत नेतृत्व गरिरहेका छन् । यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् ।
पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।




