काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘शिक्षामा सीप’ र ‘बुक फ्री फ्राइडे’ कार्यक्रमबाट नतिजा आउन थालेको महसुस भएको बताएका छन् । यी कार्यक्रम सञ्चालनमा आएसँगै छात्रछात्राहरु स्वावलम्बनका विषयमा निर्धक्क बोल्न सक्ने भएको उनको भनाइ छ ।
‘सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका स्वावलम्बनका विषयमा निर्धक्क बोल्न थालेपछि काठमाडौँ महानगरपालिकाको ‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नतिजा आउन थालेको महसुस भएको छ,’ उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।
साथै उनी शुक्रबार विद्यालयको निरीक्षणमा समेत गएका छन्। ‘विद्यालयहरुको अनुगमन निरीक्षणका क्रममा वडा नं. ६ वौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालय र वडा नं. ७ मा रहेको पशुपति मित्र माध्यमिक विद्यालयमा पुग्दा विद्यार्थीहरु आफ्ना आफ्ना क्रियाकलापमा व्यस्त थिए, ’ उनले भनेका छन्, ‘उनीहरुले पढेको भन्दा सिकेको महसुस गरिरहेका थिए । उनीहरुलाई शिक्षकले पढाउँदै थिएनन् । जीवनमा आइपर्ने सानातिना समस्या आफै कसरी समाधान गर्न सकिन्छ भनेर सिकाइरहेका थिए ।’
विद्यालयहरुमा चलेका यी कार्यक्रमहरुबाट पाठ्यक्रममा आधारित पाठ्यसामग्री विद्यालय र शिक्षक आफै निर्माण गर्न सक्छन् भन्ने पुष्टि भएको पनि मेयर शाह बताउँछन् ।




