कार्कीविरुद्धका उजुरी जाँच गर्न बोलाइयो संसदीय सुनुवाइ समिति

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आजका लागि बोलाइएको छ । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न बैठक ११ बजेका लागि बोलाइएको हो ।

कार्कीविरुद्ध समितिमा परेका उजुरी अध्ययन गर्ने र आवश्यकता अनुसार उजुरीकर्तालाई छलफलमा बोलाइने समिति सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए । हिजो मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो ।

न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेरहदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो । कार्कीविरुद्ध जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको थियो ।

कानुनतः अवकाशको एक महिना अघिदेखिनै प्रधानन्यायाधीशले इजलासमा बस्न पाउँदैनन् । उजुरीमाथि छानबिन र त्यसउपर कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ । उमेरहदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप