काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ ।
मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ। उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए ।
आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी पाण्डेले बताए। हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए । माटोले आधा पुरेको अवस्थामा रहेको शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्यापछि हशिवुनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन दिएकी थिइन् ।
दुई जना छोरा रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो । आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएकी छन् । हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा अगाडि बढाइएको डीएसपी पाण्डेले जानकारी दिए ।




