काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिनको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका उनले पहिलो अभिव्यक्तिमै टीकापुर घटना पुनः छानबिन हुनुपर्ने माग गरेका हुन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी सोमबार बिहान सवा आठ बजे रिहा भएका थिए । स्वागतमा पुगेका कार्यकर्तालाई साक्षी राख्दै उनले भने, ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु । टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ । यो घटनामा निर्दोष कोही पर्नु हुँदैन ।’
चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताए । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ, सहादत प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ,’ उनले अगाडि भने, ‘अढाई वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ, र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ ।’
रेशम चौधरीलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन् । पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमालासहित बिहानैदेखि कारागार परिसरमा भेला भएका थिए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहॊस