काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको जलहरीमा लगाइएको ‘आरोप’ रेकर्डबाट हटाउने सहमति भएको छ । सिंहदरबारमा बसेको शीर्ष तीन दलको बैठकमा यस्तो सहमति भएको हो ।
सिंहदरबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष ओलीको संलग्नता नरहेको सदनलाई जानकारी गराउने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । प्रधानमन्त्रीजीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोलीसँग सम्बन्धित पनि होइन, जुन कुरा अभिव्यक्त भयो त्यो कुरा सही छैन, यो उपर्युक्त थिएन’ भनेर आज सदनमा भन्नुहुन्छ । त्यसपछि वातावरण सहज ढंगले अगाडि बढ्छ,’ उनले भने, ‘हामीप्रति निराधार आरोप लगाइयो । त्यो भ्रम चिर्न चाहन्छौँ । सत्तापक्षबाट भएको छ त्यसको डटेर प्रतिवाद गर्छौँ ।’
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएका थिए । यसको स्पष्ट छानबिन हुनुपर्ने भन्दै एमालेका सांसदहरूले शुक्रबारको संसद् बैठक अवरोध गरेको थियो । प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।




