निर्मला बलात्कार-हत्याकाण्ड : प्रहरीमाथि छानबिन समितिको शंकैशंका (पूर्ण पाठ)

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उक्त समितिले घटनामा प्रहरीका तर्फबाट सुरूदेखि नै एकपछि अर्को शंकास्पद घटना भएको प्रतिवेदन दिएको छ ।

समितिले निर्मला हराएको दिनदेखि अभियुक्त भनी पक्रिएका दीलिपसिंह बिष्टका भित्री लुगाबारे प्रहरीले गरेका काम शंकाको घेरामा रहेको बताएको छ । ३७ पृष्ठ लामो प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको निष्कर्ष निकालिएको छ । पन्तको हत्या घटनासँग सम्बन्धित प्रमाण सङ्कलनमा खटिएका प्रहरीको लापर्वाही रहेको निष्कर्ष निकालिएको छ ।

शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र ती सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि प्रयोग हुनसक्ने गरी तालीमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रका तत्काल पर्याप्त मात्रामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन नगरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पन्त जुन घरबाट हराएको हो सोही घरमा बस्ने बविता भनिने अनिता बम र रोशनी भनिने आँचल बमलाई हिरासतमा लिइ अनुसन्धान प्रक्रिया थालनी नगरेको र स्थानीय प्रहरीले यथेष्ट प्रमाणबिना दिलीपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरी सार्वजनिक गरेको उल्लेख छ ।

यस्तै भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, नीलो रङको गञ्जी र खैरो रङको जिन्स पाइन्ट केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षाका लागि भदौ ८ गते पठाएको भदौ १० गते नमूना सच्याउन पत्र लेखेको पाइएको छ ।

पन्तको बलात्कार हत्यासँग सम्बन्धित प्रमाण लाग्न सक्ने भित्री बस्त्र पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालिएको र उक्त बस्त्र नै लोप गरिएको, पन्तका बाबु यज्ञराज साउन १२ गते मात्रै नेपाल फर्केको भए पनि साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खडा गरेको दसी प्रमाणमा सनाखत मुचुल्का कागजातमा मृतकका बाबुको नाममा सही छाप गरेको पाइएको छ ।

तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टको व्यवहार र कार्यशैलीका कारण आमनागरिक तथा पीडित परिवारका सदस्य प्रहरीको काम कारवाहीप्रति विस्वस्थ हुन नसकेको, मृतकको शव अन्त्येष्टि गर्न पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिले अनावश्यक दबाब दिएकोसमेत प्रतिवेदनमा उल्लेख छ ।

यस्तै घटनास्थलमा भेटिएको कापी साइकल रहेको स्थानदेखि एक किलोमिटर टाढा पानीमा रहेको भनिए पनि कापी भिजेको नदेखिएको, नीलो जेल पेनले लेखेको कुनै पनि अक्षर नमेटिएको, रोशनी बमको घरबाट लगेको भनिएको अम्बा बरामद नगरेको र तत्कालीन अवस्थामा छानबिन टोलीमा रहेका प्रहरी कर्मचारीलाई तत्काल छानबिन गरी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।

शव फेला परेको स्थानको सुरक्षा र शव जाँच मुचुल्का एवं अनुसन्धान गर्न खटिएका टोलीले जिम्मेवारी पूरा नगरेको पाइएकाले पदीय तह र जिम्मेवारी एवं भूमिका अनुसार छानबिन गरी विभागीय कारवाही गर्नुपर्ने छानबिन समितिको सुझाव छ ।

यस्तै प्रहरी उपरीक्षक विष्टले आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वयं घटनास्थल नगएको तथा सो घटनाको अनुसन्धानमा समेत पदीय जिम्मेवारी पूर्णत पालना नगरेको पाइएकाले विभागीय कारवाही गर्न समितिले सुझाव दिएको छ ।

त्यस्तै पीडित परिवारको सुरक्षालगायत सामान्य जीवनयापन प्रभावित भएको भए राज्यको तर्फबाट सामाजिक पुनःस्थापना गर्नुपर्ने र घटनाको अनुसन्धान तथा सहयोगीका रुपमा खटिएका प्रहरी तथा कर्मचारीको काम कारवाहीको सम्बन्धमा प्राप्त तथ्य, प्रमाण र घटनाक्रमका आधारमा संलग्नता देखिएका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउन सुझाव दिइएको छ ।

प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस